
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीलाई दैनिक टोकन संख्या बढाउन निर्देशन दिएका छन् । बुधबार कार्यालयमा आकस्मिक निरीक्षणका लागि पुगेका उनले अहिलेको संख्या १ हजारलाई बढाएर १ हजार ५ सय पुर्याउन निर्देशन दिएका हुन् ।
सेवाग्राहीले कुनै पनि किसिमको गुनासो गर्ने अवस्था नआउने गरी काम गर्नका लागि मन्त्री श्रेष्ठले कर्मचारीलाई निर्देशन दिएका हुन् । बाध्यताले विदेश जाने श्रमिकलाई दुःख दिन नहुने भन्दै सेवा चुस्त दुरुस्त हुनु पर्ने बताएका छन् । कुनै किसिमको गुनासो आएको खण्डमा राम्रो नहुने मन्त्री श्रेष्ठको भनाइ छ । सोही अवसरमा मन्त्री श्रेष्ठले महिला र पुरुषको छुट्टाछुट्टै लाइन बस्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
जनताको रोजीरोटीसँग जोडिएको कार्यालय भएको भन्दै सोहीअनुसार कार्य गर्नका लागि सबै कर्मचारीलाई उनले निर्देशन दिएका थिए । ‘सबै मिलेर राम्रो काम गर्नु पर्ने भन्दै श्रमिकलाई समस्या नहोस् भन्ने मान्यता हो, सोही अनुसार काम गर्नु होला,’ मन्त्री श्रेष्ठले भने । यसैबीच, मन्त्री श्रेष्ठ कसैलाई खबर नगरी ताहाचल कार्यालय पुगेपछि बिचौलियाको भने भागाभाग भएको छ ।
कर्मचारीहरू ‘मन्त्री आए मन्त्री आए’ भन्दै चिच्याएपछि कार्यालय परिसरमा रहेका बिचौलियाको भागाभाग मच्चिएको थियो । मन्त्री श्रेष्ठ सेवाग्राहीको भेषमा ताहचल पुगेका थिए । कुनै जानकारीबिनै मन्त्री कार्यालयमा आएपछि कर्मचारीहरूबीच नै होहल्ला भएको थियो । श्रम कार्यालयमा बिचौलियाको रजगज चलेको गुनासो बढेपछि मन्त्री श्रेष्ठले छड्के निरीक्षणमा पुगेको बताएका छन् ।