
काठमाडौं– इजरायलका लागि परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण सुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणको स्वास्थ्य परीक्षण २९ कात्तिकदेखि ५ मंसिरसम्म स्वास्थ्य परीक्षण गर्न सकिने भएको हो ।
इजरायल जानका लागि लगिएको परीक्षामा उत्तीर्ण भएकामध्ये यो समयमा ५ सय जनाको स्वास्थ्य परीक्षण गर्न लागिएको विभागल जारी गरेको सूचनामा भनिएको छ । साथै चारित्रिक प्रमाण पत्रका लागि पनि अनलाइनमार्फत फारम भर्न विभागले अनुरोध गरेको छ । परीक्षामा उत्तीर्ण भएकामध्ये क्रम संख्याका आधारमा ३ सय ५० जना महिला र १ सय ५० जना पुरुषलाई पहिलो चरणमा चारित्रिक प्रमाण पत्र र स्वास्थ्य परीक्षाका लागि आग्रह गरी अस्पतालसमेत तोकिएको छ ।
विभागद्वारा जारी सूचनाअनुसार स्वास्थ्य परीक्षण गरिएको प्रमाणपत्र अस्पतालले नै विभागको वेबसाइटमा उपलब्ध गराउने छ । तर चारित्रिक प्रमाणपत्र भने स्क्यान गरेर विभागको वेबसाइटमा राख्नका लागि भनिएको छ । स्वास्थ्य परीक्षण गर्नका लागि ४ वटा अस्पतालाई तोकिएको छ । जसमा वीर अस्पताल, ह्याम्स अस्पताल, नेपाल मेडिसिटी अस्पताल र मनमोहन मेमोरिय मेडिकल कलेज रहेका छन् ।
इजरायलको दीर्घकालिन सेवा केन्द्रमा श्रमिक पठाउनका लागि २८ भदौमा परीक्षा सञ्चालन गरिएको थियो । लिखित र मौखिक परीक्षामा उत्तीर्ण भएका १ हजार ६ सय जना परीक्षार्थीको नाम नेपालले २५ असोजमा इजरायल पठाएको थियो । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष उत्तीर्ण भएको विभागले जनाएको छ । उनीहरूमध्ये नेपालबाट एक हजार जना रोजगारीका लागि इजरायल जान पाउने बताइएको छ ।