
काठमाडौं– बहराइनले नेपाललाई रातो सूची (रेड जोन) बाट हटाएको छ । कोभिडका कारण बहराइनले नेपाललाई रेड जोनमा राख्दै नेपालीहरूलाई यात्रामा लगाएको प्रतिबन्ध शनिबार राति १२ बजेदेखि हटाएको हो ।
नेपाललाई रेड जोनबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड जोनमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा विभिन्न प्रतिबन्ध लगाएको थियो । अब सो प्रतिवन्ध १४ नोभेम्बरदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको दूताबासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् । साथै खोपको दुई मात्रा लगाएकाहरूले भने क्वारेन्टान बस्नु नपर्ने जनाइएको छ । दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेन्टान बस्न पर्दैन ।’
बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र भने अनिवार्य साथमा राख्नुपर्नेछ । खोप नलगाएका वा एकपटक मात्र खोप लगाएका यात्रुले भने १० दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नु पर्ने जनाइएको छ । एकपटक खोप लगाएका वा खोप नलगाई त्यहाँ पुगेको व्यक्तिहरूले आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वारेन्टाइन बस्नु पर्ने नियम ल्याएको छ ।
खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ र दशौँ दिनमा दिनमा पिसिआर परीक्षण गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लखे गरिएको छ । साथै पिसिआर परीक्षणका लागि सावधान बहराइन एपमार्फत समय लिनु पर्ने जनाइएको छ ।