
काठमाडौं– ओमानमा गैरकानुनी रूपमा रहकाहरूले बिनाजरिवाना स्वदेश फर्किन पाउने भएका छन् । ओमान सरकारले गैरकानुनी रूपमा रहेकाहरूलाई त्यहाँको श्रम मन्त्रालयको स्विकृति लिएर ३१ डिसेम्बर अर्थात १६ पुससम्म बिनाजरिवाना ओमान छाड्न सक्ने गरी कानुन बनाएपछि यस्तो सुविधा प्राप्त भएको हो ।
यो अवसरको सदुपयोग गर्दै स्वदेश फर्किन ओमानमा रहेका नेपालीहरूलाई त्यहाँ रहेका नेपाली दूतावासले अनुरोध गरेको छ । ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिनाजानकारी आफ्नो रोजगारदातालाई छाडी गैरकानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक बिनाजरिवाना स्वदेश फर्कन सक्ने दूतावासले जनाएको हो । ओमान सरकारले दिएको यो अवसरको सदुपयोग गर्दै हालसम्म ५० जना नेपाली स्वदेश फर्किसकेको पनि दूतावासले जनाएको छ ।
ओमानमा विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्क बाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ । ओमान सरकारले दिएको आममाफीमार्फत स्वदेश फर्कन चाहने नेपाली श्रमिकले पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा आममाफीबारे थप केही बुझ्न परेमा पनि दूतावासमा सम्पर्क सकिने जनाइएको छ । तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाताले प्रहरीमा उजुरी गरेकाहरूको हकमा भने यो प्रक्रिया लागू नहुने दूतावासले जनाएको छ ।