
काठमाडौं– लामो समयदेखि रोकिएको कोरिया रोजगारी मंसिरदेखि खुल्ने भएको छ । पुराना श्रमिक लैजान सुरु गरेको कोरियाले नयाँ श्रमिक पनि लैजाने काम मंसिरदेखि सुरु गर्ने भएको हो । कोरोनाको महामारीका कारण बन्द रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत श्रमिक लैजाने प्रक्रिया आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि खुला हुने जनाइएको छ ।
कोरियाको श्रम मन्त्रालयका अनुसार इपिएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुन लागेको हो । कोरियाले इपिएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी श्रमिक दक्षिण कोरिया लैजाने गरेको छ । तर कोरोना महामारी सुरु भएसँगै कोरिया जाने सम्पूर्ण प्रक्रिया रोकिएको थियो । विदेशी कामदार नजाँदा त्यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुन थालेको समाचारमा जनाइएको छ ।
अहिले कोरियामा ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको र ७५.५ प्रतिशतले खोपको पूरै मात्रा लगाएको भन्दै कोरोना रोकथामका लागि बनाइएको प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको समाचारमा जनाइएको छ ।