
काठमाडौं– रोजगारीका लागि विदेशमा रहेकाहरूलाई पनि जनगणनामा समेट्नु पर्ने बताइएको छ । रोटरी क्लब अफ काठमाडौं वेस्टले आइतबार आयोजना गरेको ‘जनगणनासम्बन्धी सचेतना कार्यक्रम’ मा लैंगिक समानता तथा समावेशीकरणविद् सरु जोशीले विदेशमा रहेकाहरूलाई पनि जनगणनामा छुटाउन नहुने बताएकी हुन् ।
वैदेशिक रोजगारीका सरकारले १ सय १० वटा मुलुकमा जान अनुमति दिएको र हाल १ सय ७२ देशमा नेपाली पुगेको भन्दै जनगणनामा समेट्न आग्रह गरेकी छन् । मुलुकको पुनः संरचनापछि पहिलो पटक हुन लागेको जनगणनामा सत्य तथ्यसहितको सूचना उपलब्ध गराउन सरकारी तथा गैरसरकारी संघ–संस्थाबीच आपसी समन्वय हुनु पर्ने उनले बताइन् । त्यसो नभएमा तथ्यांक हराउनसक्ने बताउँदै अधिकारकर्मी जोशीले गैरसरकारी संघ–संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
समाजवादी प्रेस संगठनका संयोजक शम्भु श्रेष्ठले गणनामा मुलुकमा भएका सबै पक्षको सही सूचना प्राप्त हुनसकेमा मात्रै त्यसका आधारमा राष्ट्र निर्माणको नीति नियम तर्जुमा गर्न सहयोग पुग्ने बताएका छन् । रोजगारीका सिलसिलामा भारतमा गएका नेपालीको सही तथ्यांक प्राप्त हुन नसकेकाले त्यसलाई पनि गणनामा समावेश गर्ने, आत्महत्या गर्ने समूह र दुर्घटनामा परेकाको तथ्यांक पनि गणनामा छुटाउन नहुने सुझाव सहभागीहरूले दिएका छन् ।
उक्त इन्टिच्यूटले सरकारी प्रतिनिधि, केन्द्रीय तथ्यांक विभागसहित सरोकारवाला पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । जन्म दर्ता, मातृ मृत्युदरलगायत विषय यसपटक गणनामा संलग्न गराउन लागिएको पनि बताइएको छ ।