
काठमाडौं– रोजगारीका लागि साउदी अरबमा पुगेका विदेशी श्रमिकहरूलाई रोजगारदाता परिवर्तन सहज हुने भएको छ । विदेशी श्रमिकलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिने गरी नयाँ कानुन लागू भएसँगै यस्तो सहजता हुने भएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार नयाँ नियम लागू भएपछि विदेशी श्रमिकले एउटा रोजगारदाताबाट अर्को रोजगारदातासँग काम गर्ने सहज रूपमा अनुमति प्राप्त गर्नेछन् । श्रम कानुनमा गरिएको परिवर्तनलाई मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले समेत पारित गरिसकेको समाचारमा उल्लेख गरिएको छ । तर रोजगारदाता परिवर्तनका लागि सुरुमा रोजगारी दिने रोजगारदाताको अनुमति भने अनिवार्य रूपमा लिनु पर्ने बताइएको छ । समाचार अनुसार रोजगारदाता परिवर्तन गर्न सुरुमा रोजगारी प्रदान गर्ने रोजगारदातासँग एक बर्ष काम गरेको हुनुपर्ने प्रावधानलाई समेत हटाइएको छ ।
यसैगरी, रोजगार करार अवधि सकिएका विदेशी श्रमिकले भने रोजगारदाताको अनुमतिबिना नै नयाँ रोजगारदाता छनोट गर्न पाउने व्यवस्था पनि कानुन संशोधनमा समेटिएको छ । यसैगरी, कानुनले तोकेका प्रक्रियाहरू पूरा भएमा रोजगारदाताको अनुमतिबिना नै नयाँ रोजगारदाता छनोट गर्न पाउने सुविधा पनि विदेशी श्रमिकलाई दिइएको समाचारमा जनाइएको छ ।