
काठमाडौं– चालू आर्थिक वर्षको सुरुका तीन महिनामा श्रम कार्यालय सुर्खेतबाट १ सय ७४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कर्णाली प्रदेशका १० जिल्लाबाट पुनः विदेश फर्किन चाहनेहरूमध्ये चालू आर्थिक वर्षको तीन महिनामा ३ जना महिला र १ सय ७१ जना पुरुषले गरी पुनः श्रम स्वीकृति लिएको श्रम कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिएकी छन् ।
चालू आर्थिक वर्षको अहिलेसम्म असोज महिनामा सबैभन्दा बढी ७० जनाले पुनः श्रम स्वीकृति लिएको रेग्मीले बताइन् । सूचना अधिकारी रेग्मीका अनुसार असोज महिनामा ६७ जना पुरुष र ३ जना महिलाले सुर्खेत कार्यालयबाट पुनः श्रम स्वीकृति लिएका हुन् । सुर्खेत कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम मात्रै हुन गरेको उनले बताइन् ।
त्यस्तै सो कार्यालयबाट भदौ महिनामा ६२ जना र साउन महिनामा ४२ जनाले पुनः श्रम स्वीकृति लिएको बताइएको छ । कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या अन्य प्रदेशकोभन्दा कम भएकाले पुनः श्रम स्वीकृति लिनेको संख्या पनि कम भएको सूचना अधिकारी रेग्मीले बताएकी छन् । ‘कर्णालीबाट रोजगारीका लागि अधिकाशं भारत जाने गरेको र भारत जानका लागि श्रम स्वीकृति लिनु पर्दैन, भारतभन्दा बाहिरी देशमा रोजगारीका लागि जानेहरूले सुरुमा काठमाडौंबाट नै श्रम स्वीकृति लिनु पर्ने र सुर्खेतबाट पुनः श्रम स्वीकृतिको काम मात्र हुन्छ,’ रेग्मीले भनिन् ।
अनुवादक बिदामा बस्दा सेवा प्रभावित
यसैबीच, अरबी भाषाका अनुवादक घर बिदामा बस्ने भएपछि श्रम कार्यालय सुर्खेतको सेवा प्रभावित हुने भएको छ । कार्यालयले अरबी भाषाका कर्मचारी बिदामा बस्ने भएकाले १० कात्तिकदेखि १७ कात्तिकसम्म अरबी भाषामा भिसा जारी हुने देशमा पुनः श्रम स्वीकृति सेवा अवरुद्ध हुने बताएको हो ।
यो अवधिमा अरबी भाषामा भिसा जारी हुने देशमा जाने श्रमिकले पुनः श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिँदै गर्न र अत्यावश्यक भएमा अन्य श्रम कार्यालयमाबाट सेवा लिन अनुरोध गरेर कार्यालयले सूचना जारी गरिसकेको छ । अरबी भाषाबाहेक अन्य भाषामा जारी हुने पुनः श्रम स्वीकृतिको काम भने जारी रहेने बताइएको छ ।