
काठमाडौं– कतारस्थित नेपाली दूतावासले कतारमा कार्यरत नेपालीलाई आफ्नो पूर्ण विवरणसहितको ठेगाना उपलब्ध गराएको प्रमाणपत्र लिन आग्रह गरेको छ । कतार सरकारले आफ्ना नागरिकसहित वैधानिक रूपमा रहेका विदेशी नागरिकलाई अनिवार्य रूपमा राष्ट्रिय ठेगाना दर्ता गर्नु पर्ने व्यवस्था लागू गरेपछि नेपाली दूतावासले पनि त्यहाँ रहेका सबै नेपालीहरूलाई यस्तो आग्रह गरेको थियो र सोही अनुसार तयार भएका प्रमाणपत्र लिनका लागि दूतावासले सबैलाई आग्रह गरेको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा जनाएअनुसार कतारको आन्तरिक मामिला मन्त्रालयबाट आफ्नो राष्ट्रिय ठेगाना दर्ता गर्न सूचित गरिदिन भनी २८ जनावरी २०२० मा अनुरोध प्राप्त भएको र कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरूले २६ जुलाई २०२० मा आ–आफ्नो राष्ट्रिय ठेगाना आन्तरिक मामिला मन्त्रालयको वेबसाइट अथवा आन्तरिक मामिला मन्त्रालयको सेवा केन्द्रहरूमार्फत दर्ता गराइएको थियो ।
सो समयमा उपलब्ध गराइएको विवरणको प्रमाणपत्र लिनका लागि दूतावासले सबै नेपालीहरूलाई आग्रह गरेको हो । यसरी आफ्नो नाम दर्ता गरेका व्यक्तिहरूले ८ सेप्टेम्बरदेखि आफूले दर्ता गरे अनुरूपको राष्ट्रिय ठेगाना प्रमाणपत्र मेट्रास–२ एप्लिकेसन एन्ड इलेक्ट्रोनिक सर्भिसबाट प्राप्त गर्न सक्ने दूताबासले जनाएको छ ।