
काठमाडौं– दक्षिण कोरियामा रहेका अवैधानिक श्रमिकले स्वच्छाले स्वदेश फर्किन पाउने भएका छन् । कोरियामा अवैध रुपमा रहेका तर खोपको पूर्ण मात्रा लगाएका विदेशी श्रमिकहरुले स्वइच्छाले स्वदेश फर्किन चाहेमा जरिवाना छुटको सुविधा पाउने भएका हुन् ।
कोरिया सरकारले गत १२ अक्टोबरदेखि नै यो व्यवस्था लागू गरिरेको त्यहाँ रहेको नेपाली दूताबासले जनाएको छ । दूतावासका अुनसार कोरियाको न्याय मन्त्रालयले यस्तो नियम लागू गराएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी अवैधानिक रुपमा बसिरहेका विदेशी श्रमिकहरु स्वदेश फर्किँदा पुनः प्रवेशमा प्रतिबन्धसमेत नलाग्ने बताइएको छ । नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार यो नियम १२ अक्टुबरसम्ममा पूर्ण रुपमा खोप लगाएका वा ३१ डिसेम्बर २०२१ सम्ममा खोप लगाउनेहरुको हकमा समेत लागु हुने जनाएको छ । अपराधको आरोपमा प्रहरीमा बुझाइएका र कोभिड १९ सम्बन्धि नियम उल्लंघन गरेका विदेशी नागरिकहरुको हममा समेत यो नियम लागू हुने जनाइएको छ ।
यसरी फर्किन चाहनेहरुले एक डोज जोन्सनको खोप वा फाइजरको डबल डोज, मोडेर्ना वा एस्टाजेनेका खोप पूरा गर्ने विदेशी नागरिकहरु तथा पूर्ण खोप लगाएका तर १४ दिन पूरा नभएकाहरुको हकमा पनि स्वेच्छिक रुपमा कोरिया छाड्दा कोरिया सरकारले हाल दिएको जरिमाना छुटको सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । खोप लगाएको प्रमाण विद्युतीय माध्यमबाट वा प्रिन्ट गरिएको कपी बुझाउनु पर्ने दूतावासले जारी गरेको सूचनामा जनाइएको छ । कोरिया सरकारले दिएको यो सुविधाको सदुपयोग गर्न कोरियामा रहेका नेपालीहरुलाई दूतावासले आग्रह गरेको छ ।
पूर्ण खोप लगाएका र अवैधानिक रुपमा बस्दै आएका विदेशीहरु अध्यागमन कार्यालयमा व्यक्तिगत रुपमा जान वा स्वेच्छिक प्रस्थानको प्रारम्भिक घोषणाका लागि अनलाइन आवेदन दिन सक्नेछन् । जाने दिन विमानस्थलमा प्रवेश प्रतिबन्ध तथा जरिवानाबाट उनीहरु मुक्त हुने दूतावासको सूचनामा उल्लेख छ । कोरिया सरकारले दिएको यो छुट सुविधाका विषयमा थप जानकारी लिनका लागि कोरिया इमिग्रेसन सर्भिसमा फोन गर्न दूतावासले आग्रहसमेत गरेको छ ।