
काठमाडौं– नेपालीहरूको मुख्य रोजगार गन्तव्य मुलुकमध्येको साउदी अरबका सबै विमानस्थलहरू पूर्णरूपमा सञ्चालनमा आएका छन् । कोरोना महामारीपछिको साउदी पुरानै अवस्थामा फर्किने अवस्थामा पुगेको र आइतबारदेखि त्यहाँका सबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।
साउदी सरकारले विमानस्थलहरूमा प्रवेश गर्ने यात्रुहरूले कोरोनाविरुद्धको खोप लगाए/नलगाएको रेकर्ड मोबाइल एपमार्फत चेकजाँच गर्ने र सबै विमानस्थल पूर्णरूपमा सञ्चालन गर्ने जनाएको छ । साथै पूर्ण खोप लगाएकाहरूले बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनु पर्ने र सामाजिक दूरी कायम गर्नु नियम पालना गर्नु पर्नेसमेत जनाइएको छ । यसैगरी, पूर्ण खोप लगाएकाहरूले विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनमा सामाजिक दूरीसमेत कायम नराखी निर्वाध आउजाउ गर्न सक्ने स्थानीय सञ्चार माध्यमहरूले बताएका छन् । कोठाभित्र काम गर्दा भने सामाजिक दुरी कायम गर्नुपर्ने र मास्क लगाउनुपर्ने नियमलाई अनिवार्य गरिएको बताइएको छ ।
त्यस्तै, साउदी अरबले पछिल्लोपटक कोरोना संक्रमण अवधिमा यात्रा गर्न नपाएर रद्द भएका उडान र रद्द भएका टिकटहरूका लागि कुनै अतिरिक्त शुल्क नलिएर समय परिवर्तन गर्न पाइने नियमसमेत ल्याएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । साउदी अरब सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्ने भन्दै २७ फेब्रुअरीदेखि तीर्थयात्रीहरूमा समेत अस्थायी प्रतिबन्ध लगाएको थियो ।