
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर घट्दै गएकको भन्दै युएईले केही सार्वजनिक स्थानमा अनिवार्य माक्स लगाउनु पर्ने व्यवस्था हटाएको छ । पूर्णखोप लगाइसकेको र संक्रमणदर पनि न्यून रहेको भन्दै युएई सरकारले स्विमिङपुल (पौडी पोखरी), सामुन्द्री किनारालगायत स्थानमा अनिवार्य माक्स लगाउनु पर्ने नियम हटाएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यस्तै एकै परिवारका व्यक्तिहरू निजी सवारीमा हिँड्दा पनि माक्स लगाउन नपर्ने भएको समाचारमा जनाइएको छ । युएईमा पछिल्लो समय दैनिक रूपमा संक्रमणदर ६२ प्रतिशतले घटेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युएईमा ९२ प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाएको र ८१ प्रतिशतभन्दा बढीले खोपको दुवै मात्रा लगाइसकेको बताइएको छ ।
अहिले पनि स्विमिङपुल (पौडी पोखरी), सामुन्द्री किनारामा जाँदा वा एकै परिवारका सदस्यहरू निजी सवारीमा सवार रहँदाबाहेक अन्य सार्वजनिक स्थानमा भने माक्स अनिवार्य नै गरिएको समाचारमा जनाइएको छ । साथै भौतिक दूरी पनि कायम गर्नु पर्ने बताइएको छ । यस्तै पछिल्लो समय युएईमा रोजगारीका लागि जाने बाटो पनि खुला भएको छ । युएईमा रहेको नेपाली दूतावासका अनुसार अहिले निर्माण र अन्य विभिन्न प्राविधिक क्षेत्रमा दक्ष र अदक्ष श्रमिकको माग रहेको छ ।