
काठमाडौं(प्रस)– इजरायलको रोजगारीका लागि सञ्चालन भएको परीक्षाबाट अन्तर्वार्ताका लागि १ हजार ८ सय ५३ जना छनोट भएका छन् । वैदेशिक रोजगार विभागले १ असोजदेखि ३ असोजसम्म सञ्चालन गरेको उचाईँ तथा तौल परीक्षणमा १ सय ८६ जना असफल भएसँगै अन्तर्वार्ताका लागि १ हजार ८ सय ५३ जना छनोट भएका हुन् ।
विभागले २८ भदौमा सञ्चालन गरेको लिखित परीक्षामा उत्तीर्ण २ हजार ३९ जनामध्ये १ सय ८६ जना तौल र उचाईंमा असफल भएको विभागले सूचना निकालेर जानकारी गराएको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि खुला गरिएको आवेदनमा ९ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । त्यसमध्ये ७ हजार ९ जनाको आवेदन स्वीकृत भएको थियो भने २ हजार ६ सय ९० जनाको आवेदन अस्वीकृत भएको विभागले जनाएको छ । आवेदन स्वीकृत भएकामध्ये पनि ६ सय ९२ जना परीक्षामा अनुपस्थित रहेको विभागका निर्देशक तथा इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवारले बताएका छन् ।
उनका अनुसार भाषा परीक्षामा सहभागी ६ हजार ३ सय १७ जनामध्ये २ हजार ३९ जना उत्तीर्ण भएका थिए । अंग्रेजी भाषाको सो परीक्षामा उत्तीर्ण भएकामध्ये १ सय ८६ जनाले उचाईं/ तौलको मापदण्ड पूरा गर्न नसकेको उनले बताएका छन् । तौल र उचाईंमा सफल भएकाहरू मात्र अन्तर्वार्ता (मौखिक) परीक्षामा सहभागि हुने र त्यसमध्ये बाट १ हजार ४ सय को अन्तिम नामावली प्रकाशन गरिने विभागले जनाएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी १ हजार जनाले रोजगारीका लागि इजरायल जान पाउने विभागले यसअघि नै जानकारी गराइसकेको छ ।