
काठमाडौं– रोजगारीका लागि कोरिया जानबाट रोकिएका श्रमिकहरू कोरिया पठाउने विषयमा नेपाल सरकारले सबै तयारी गरिरहेको छ । कोभिडका कारण रोकिएका श्रमिकहरू कोरियाले तोकेका सर्तहरू पूरा गरेर पठाउने विषयमा नेपाल सरकारको तर्फबाट सबै तयारी अवस्थामा रहेको भन्दै कोरियाको जवाफको पर्खाइमा रहेको इपिएस कोरिया शाखाका निर्देशक सुरेश रावतले बताए ।
कोरियाले राखेको १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने, सो अवधिको बिमा गर्नु पर्ने र सो खर्च श्रमिक आफैँले बेहोर्ने भन्ने विषयमा श्रमिकहरूसँग छलफल भएको निर्देशक रावतले बताएका छन् । श्रमिकहरू सकारात्मक रहेको र सिधा उडानका लागि बोलपत्र आह्वान गरिएको र निर्धारित मितिमा दर्ता भएका बोलपत्रउपर छानबिनको कार्य भइरहेको रावतले बताए ।
कोरियाले ट्रान्जिट भएर जाँदा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै काठमाडौंबाट सिधा कोरिया उडान गर्नुपर्ने सर्त राखेको थियो । कोरियाले राखेका सर्तहरू नेपालको तर्फबाट पूरा भएकाले भाषा पास गरेर बसेका नेपाली युवाहरू छिट्टै कोरिया जान पाउने सम्भावना बढेको इपिएस कोरिया शाखाले जनाएको छ । कोभिड–१९ का कारण नेपालबाट करिब ११ हजार युवा कोरिया जानबाट रोकिएको बताइएको छ । भाषा पास गरेका नयाँ करिब ५ हजार र पुराना करिब ३ हजारको हाराहारीमा युवाहरू कोरियाको प्रतिक्षामा रहेको निर्देशक रावतले बताएका छन् । उनका अनुसार अहिले कोरियाले राखेको स्वास्थ्य मापदण्ड पूरा गरिसकिएको र सिधा हवाइ उडानका लागि टिकट उपलब्ध गराउन इच्छुक कम्पनीमध्ये एक कम्पनीसँग ६ अक्टोरमा सम्झौता गरिने छ ।
‘कोरोना बिमाका लागि कम्पनी छनोट भइसकेको र सिधा उडानका लागि बोलपत्र आह्वान गरिएको छ,’ उनले भने । कोरियाले १६ वटा देशबाट श्रमिकहरू लैजाने गरेको भन्दै उनीहरूले नै श्रमिक आपूर्तिका लागि मापदण्ड तयार पार्ने र सोहीअनुसार श्रमिक पठाइने निर्देशक रावतले बताएका छन् ।