
काठमाडौं– वैदेशिक रोजगारीका लागि युएईमा पुगेर अलपत्र परेका समसेर घिमिरेको उद्धार गरिएको छ । बिरामी भई समस्यामा परेका घिमिरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा उद्धार गरी बुधबार नेपाल फर्काइएको हो ।
घिमिरे करिब ७ महिनाअघि एनआरएनए युएईको सम्पर्कमा आएको बताइएको छ । घिमिरेको नेपालको घर लमजुङमा रहेको र उनी तीन वर्षअघि रोजगारीको शिलसिलामा युएई गएको जनाइएको छ । एनआरएनएको सम्पर्कमा आउँदा उनको खुट्टामा घाउ लागेको बताइएको छ । उनलाई कम्पनीले १४ महिना मात्रै रोजगारी दिएको बताइएको छ । कम्पनीले कामबाट निकालेपछि उनी त्यहाँ गैरकानुनी रूपमा बस्दै आएको जनाइएको छ ।
गम्भीर बिरामी भएको अवस्थामा एनआरएनए युएईको सम्पर्कमा पुगेका उनको संघले नै उपचारको पनि व्यवस्था गरिदिएको बताइएको छ । उनलाई झन्डै एक महिनाको उपचारपछि सेल्टरमा सारिएको र त्यसपछि प्रक्रिया पूरा गरेर उनलाई नेपाल फर्काइएको संघले जनाएको छ । त्यस्तै उनलाई ७ महिनासम्म युएईमा रहँदाको दैनिक खर्च, औषधि उपचार खर्च, पिसिआर र हवाइ टिकटको व्यवस्थासमेत एनआरएनले गरेको बताइएको छ । घिमिरेको अवस्थाका बारेमा युएईबाट संघका केन्द्रीय उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सी.लाई जानकारी आएलगत्तै संघको स्वास्थ्य विभागका संयोजक डा.संजीव सापकोटासँग समन्वय गरेर तत्काल उनको आवश्यक उपचारको पहल थालिएको बताइएको छ ।