
काठमाडौं– नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरबमा यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउने विदेशीलाई पाँच वर्षको प्रतिबन्ध लाग्ने भएको छ । साउदी सरकारले कानुन उल्लंघन गरी नक्कली ट्राभल डकुमेन्ट बनाउने विदेशीलाई आर्थिक जरिबानासहित पाँच वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लागाइने भएको हो ।
हालै अनुमोदन गरिएको कानुनको पालना नगर्ने व्यक्तिलाई एक लाख साउदी रियालसम्मको जरिबाना हुने प्रावधान राखिएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि यो जरिबाना रकम पाँच हजार साउदी रियाल मात्रै रहेको थियो । साथै यसअघि यस्तो प्रकृतिको कार्य गरेको पाइएमा तीन वर्ष मात्रै यात्रा प्रतिबन्ध लाग्ने नियम रहेको थियो ।
केही खुकुलो रहेका नियमहरूलाई त्यहाँको सरकारले थप कडा बनाउँदै लगेको बताइएको छ । यो नियमलाई त्यहाँको मन्त्रिपरिषद्ले अनुमोदन गरी लागू गरेको जनाइएको छ । पछिल्ला निर्णयसँगै त्यहाँ जरिबाना रकममा भारी वृद्धि गरिएको छ भने प्रतिबन्धको समयमा पनि २ वर्ष थपिएको छ ।
नयाँ नियमअनुसार राहादानीमा उल्लेखित विवरण थपघट वा परिवर्तन गरेको पाइएमा, जानीजानी राहदानी वा अन्य यात्रा कागजातलाई नष्ट गर्ने वा त्यस्ता कागजातमा व्यक्तिको फोटो परिवर्तन गर्ने व्यक्ति, लापरबाही गरेर यात्रा अनुमति पत्र हराउने व्यक्तिहरूलाई यस्तो सजाय हुने बताइएको छ । त्यस्तै गैरकानुनी रूपमा राहदानी वा यात्रा अनुमति पत्र बिक्री वितरणमा संलग्न व्यक्ति, तेस्रो पक्षसँग सम्बन्धित राहदानीको प्रयोग गर्ने व्यक्तिलाई पनि यो नियमअनुसार कारबाही गरिने जनाइएको छ । साथै ट्राभल डकुमेन्टबिना साउदी अरब छाडेर अन्यत्र जान खोज्ने वा साउदी प्रवेश गर्ने व्यक्तिलाई पनि यो सजायको भागीदार हुने बताइएको छ ।
यसैबीच, संसोधित नियमअनुसार यात्रा कागजात कानुन (ट्राभल डकुमेन्ट ) र यसको कार्यकारी नियमको कुनै पनि प्रावधानको उल्लंघन गर्नेलाई जरिबाना लगाइने समाचारमा जनाइएको छ । यद्यपि क्षम्य (माफीयोग्य) भएका यात्रीको हकमा भने सो कारबाही नगरिने बताइएको छ ।