लामो समयसम्म मजदुर नेताका रूपमा कार्य गर्नु भएका नेकपा एमालेका नेता मोतीराज सुनुवार । अहिले नेकपा एमालेको राष्ट्रिय परिषद् सदस्य हुनुहुन्छ । उहाँ ०४० सालदेखि यातायात मजदुर हुँदै त्यसै क्षेत्रको नेता पनि बन्नुभयो । मजदुर क्षेत्रमा लामो समय काम गर्नु भएका राईसँग कोरोनाको महामारीबाट श्रमिकलाई कसरी राहत प्रदान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर संवाददाता महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश
कहिलेदेखि यो पेसामा आबद्ध हुनुहुन्छ ?
– मैले ०४० सालदेखि यातायात मजदुरका रूपमा यो क्षेत्रमा सामेल भएर काम गरिरहेको छु । दोलखामा जन्मेर धरान पुगेपछि यो क्षेत्रमा निरन्तर लागेको छु । यो क्षेत्रमा परिवर्तनका लागि लागेको हुँ ।
सुरुवाती अवस्था र अहिलेको अवस्थामा के फरक पाउनु भएको छ ?
— सुरुवाती अवस्थामा मालिककामा काम गर्नु पर्ने अवस्था थियो भने अहिले श्रमिकहरूहरू पनि रोजगारी सिर्जनामा लागिरहेका छन् । आफैँले गाडी किनेर आफैँले रोजगारी गरेको र पहिलेको जस्तो अवस्था अहिले छैन । केही लगानी गरेर आम्दानी गर्न सक्ने अवस्थामा पुगेको छ अहिले ।
आर्थिक रूपमा मजदुरका नेता मजबुत हुँदै जाने तर मजदुर भने भए खाने वर्गमा परिणत हुँदै छन्, कसरी यस्तो भएको हो ?
— यस्तो होइन, कदाकदा कोही त्यस्तो भएको होला तर सबै त्यस्तो पनि भन्न मिल्दैन । यहि क्षेत्रमा काम गरिरहेकाहरू पनि प्रशस्त रहेका छन् ।
तपाइहरूले नेतृत्व गरेका संस्थाले कोभिड महामारीमा श्रमिकका लागि के के काम गरे ?
– मजदुरका संगठनहरूले मजदुरलाई यो अवस्थामा राहात वितरण गर्ने कार्य गरेका छन् । र, यो गर्नु पर्ने पनि हो । सबैभन्दा बढी यातायात क्षेत्रमा मजदुरी गर्नेहरूलाई मार परेको छ । म अहिले मजदुर संगठनको नेतृत्वमा छैन । तर, भएका साथीहरूले पनि राहत वितरण गर्ने काम निरन्तर गरिरहेका छन् । मजदुरलाई खोपको व्यवस्था गर्नेदेखि राहत वितरणसम्मका लागि संगठनहरूले काम गरिरहेका छन् ।
श्रमिकहरूका लागि कसले के गर्नु पर्ला ?
– कोभिडका कारण मजदुरी गरेर जीवनयापन गर्नु पर्ने मजदुरलाई समस्या भएको छ । यसका लागि सरकाले राहत प्रदान गर्नेतर्फ सोच्नु पर्ने अवस्था छ । मजदुरहरूलाई कोठा भाडा छुट गर्नका लागि पनि सरोकारवालाले ध्यान दिनुपर्ने हुन्छ । अबको अवस्थामा सावधानी अपनाएर रोजगारीका क्षेत्र खुल्नु पर्ने हुन्छ । सायद अब फेरि लकडाउन नहोला र हुनु पनि हुँदैन भन्ने मेरो धारणा हो । कोभिडले निकै मार परिसकेको छ, लकडाउन गर्नेभन्दा पनि श्रमिकलाई श्रम गर्ने वातावरण निर्माण गर्नेतर्फ सरकारले पनि ध्यान दिनु पर्छजस्तो लाग्छ । मजदुरका संगठनहरूले पनि यस विषयमा गम्भीर भएर लाग्नु पर्छ ।
मजदुरका लागि सरकाले के गर्नु पर्ला ?
– सरकाले मजदुरलाई रोजगारीको अवसर प्रदान गर्नेतर्फ लाग्नु पर्छ । रोजगारी गुमाएका मजदुरहरूलाई पुनः रोजगारीको अवसरका लागि पहल गर्ने कार्य पनि सरकारको नै हो । साथै सरकारले प्रदान गर्ने सहुलियत ऋणमा समेत पहुँचवालाको मात्रै हालीमुहाली भइरहेको छ । तल्लो तहका श्रमिकलाई पहुँचमा पु¥याउनेतर्फ लाग्नु पर्छ । तल्लो तहका श्रमिकलाई ऋण लिनकै लागि पनि निकै झन्झटिलो प्रक्रिया रहेकाले यसमा सुधार गरेर मजदुरलाई राहत दिनेतर्फ लाग्नु पर्छ ।
श्रमिकको पक्षमा हुन्छन भनिएका कम्युनिस्टले नै मजदुलाई देखाएर फाइदा लिएका छन् भन्ने आरोप छ नि ?
–तअरु नेताहरू भन्दा कम्युनिस्ट फरक हुन नसकेको कुरा सत्य हो । कम्यनिस्टले मजदुरका कुरा उठाउँछन् त भनियो तर अन्यभन्दा फरक हुन सकेनन् । मनमोहन अधिकारीबाहेक अरु प्रधानमन्त्रीले तल्लो वर्गका जनाताको पक्षमा काम गर्न सकेनन् । नेताले फाइदा लिए, श्रमिक जहाँको त्यहीँ भएको साँचो हो, मजदुर वर्गको उत्थानका लागि साना–साना सुविधामा मात्र ध्यान दिने हो भने मजदुर वर्गको आर्थिक अवस्थामा सुधार हुन्छ । श्रमिकका लागि ल्याएको बिमा कार्यक्रम पनि लागू गर्न नसकिएको अवस्था छ, अब यत्ति पनि सबै मजदुर वर्गमा पु¥याउने हो भने मजदुरहरूको उत्थान हुन्छ ।
मजदुरका नेताहरूले आर्थिक हैसियतमा एक्कासि सुधार गरेका छन्, यसप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– सरल र सहज हुन्छन र मजदुरसँग नजिक हुन्छन् भनिएको कम्युनिस्ट वा मजदुरका नेता पनि विलासितातिर लागेको अवस्था छ । यस्तो अवस्था देख्दा मजदुरको नेताभन्दा मनै कुँडिन्छ । मन कटक्क खान्छ, हामीजस्तै हुनेछन् भनेको अवस्था थियो । त्यस्तै प्रशिक्षण समेत दिएको थियो । तर त्यसमा खासै फरक हुन भने सकेनन् । नेतृत्वले राज्यबाट सेवा सुविधा लिइरहेको अवस्थामा मजदुरले भने उपचार नपाउने अवस्था रहेको छ । नेता टलक्क टल्किने गाडी बेगर नहिँड्ने भएका छन् । मजदुरको अवस्था उस्तै देख्दा आफू पनि त्यो ठाउँमा पुग्दा यस्तै पो बनिन्छ कि भन्ने डर लाग्छ । सबै बराबरको सिद्धान्तले नेता बने पनि सिद्धान्तलाई थुनेर राखिएको अवस्था छ । सामान्य किसान मजदुर र नेताहरूबीचको खाडल झन् बढेर गएको अवस्था छ । यस्तो अवस्था हुँदा मजदुर आन्दोलनको अभियानकर्ता भएको नाताले सन्तुष्ट हुने कुरै भएन ।
संगठनहरूले के गर्नु पर्छ ?
— म यातायात क्षेत्रमा लामो समय काम गरेको भएर होला यसै क्षेत्रका विषयमा बढी जानकार छु । यो क्षेत्रमा मजदुरले पाउने पारिश्रमिक व्यवस्थित गर्न नसक्दा पनि समस्या भएको छ । यसलाई समाधानका लागि संगठनहरूले काम गर्नु पर्छ । श्रमिक आफँैले पनि व्यवस्थित गर्न नसकेको अवस्था छ । आज कमायो आजै सक्ने परिपाटी छ । जसले दीर्घकालीन फाइदा पुग्न सकेको छैन । आर्थिक व्यावस्थापन कसरी गर्ने भन्ने विषयमा पनि संगठनहरूले काम गर्नु पर्ने देखिन्छ । जसबाट श्रमिकलाई दीर्घकालीन रूपमा फाइदा मिल्न सक्ने अवस्था हुन्थ्यो होला । राज्यले ल्याएको पेन्सनको व्यवस्थामा पनि जान नसकेको अवस्थामा यसलाई कार्यान्वयन गर्नका लागि लाग्नु पर्ने अवस्था देखिन्छ ।
स्वदेशमा रोजगारी सिर्जनाका लागि के गर्नु पर्ला ?
– नेपालमा रोजगारी सिर्जना गर्नका लागि बैंकबाट प्राप्त गर्ने प्रक्रिया सरल र सहज हुनुपर्छ । सरकारले बिनाधितो ऋण दिने भन्छ तर प्रक्रिया पु¥याउन नसक्दा प्राप्त गर्न नसक्ने अवस्था छ । सरल तरिकाले ऋणको सहज उपलब्धता, वास्तविक श्रमिकले पाउने वातावारण बनेको खण्डमा स्वदेशमै रोजगारी सिर्जना हुन सक्छ ।
राज्यको तर्फबाट श्रमिकलाई सहयोग भएन भन्ने सुनिन्छ नि के यो साँचो हो ?
– हो । अवस्था यस्तै छ । राज्यको तर्फबाट श्रमिकलाई सहयोग हुन सकेको छैन । सरकारले रोजगारी सिर्जना गर्न नसकेको अवस्था र भएका क्षेत्र पनि बन्द गर्नु पर्ने अवस्थामा यसतर्फ सरकारले ध्यान दिनु पर्ने देखिन्छ ।
अन्तिममा तपाइलाई एउटा राजनीति प्रश्न : एमाले विभाजन भयो, अब के होला ?
– लोभ र पापका कारणले पार्टी विभाजन भएको हो । विचार र सिद्धान्तभन्दा पनि पदका लागि पार्टी विभाजन भएको हो । नेकपा हुँदा पनि पदकै लागि दुई पार्टी भएको अनि एमाले पनि पदकै लागि फुटेक हो कुनै विचार र सिद्धान्त नमिलेर होइन । शक्तिशाली प्रधानमन्त्रीलाई घेराबन्दीमा हालिएका कारण संसद विघठन गर्नु पर्ने अवस्था आएको हो । बिरोलोलाई कोठामा थुनेर कुट्न खोज्दा चिथोर्छ नि हैन र ? संसद विघटन त्यस्तै हो । प्रधानमन्त्री ओलीले विकास निर्माणलगायत क्षेत्रमा निकै राम्रो काम गर्दै जाँदा पनि पार्टी भित्रबाटै समस्या सिर्जना भएको कुरा सबैलाई जगजाहेरै छ ।