
काठमाडौं– वैदेशिक रोजगारमा गएका धनुषाका एक व्यक्ति विगत पाँच वर्षदेखि सम्पर्कविहीन बनेका छन् । जिल्लाको कमल नगरपालिका–७ का दुखी मण्डल ५ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका हुन् ।
उनी सम्पर्कविहीन बनेपछि परिवारमा चिन्ता थपिएको छ । आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा गएको बताइएको छ । सुरुको २–३ वर्ष परिवारको सम्पर्कमा रहेका उनी पछिल्लो समय सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनीले सुरुका दिनमा परिवारलाई पैसासमेत पठाउने गरेको बताइएको छ । पैसा कमाएर आर्थिक अवस्था सुधार गर्ने सपना बोकेर विदेश गएका श्रीमान् हराएको भन्दै चिन्ता बढेको उनकी श्रीमती विनिता मण्डलले बताइन् ।
उनका श्रीमान साउदी अरबमा रोजगारीका लागि गएको बताइएको छ । विदेशमा गएर पैसा कमाएपछि ऋण तिरेर छोराछोरीको शिक्षा दीक्षाको व्यवस्था गर्दै खुसीसाथ बस्ने योजनामा रहेकी विनिताले अहिले श्रीमान् सम्पर्कमा नआउँदा घर व्यवहार चलाउन समस्या भएको बताइन् ।
उनका श्रीमान् साउदीमा ऊँट र बाख्राको रेखदेख गर्ने काम गर्दै आएको बताइएको छ । उनीसँग मोबाइल नभएकाले कम्पनीको मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको उनले बताइन् । अहिले मालिक पनि सम्पर्कमा नरहेको उनको भनाइ छ ।