
काठमाडौं– वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरूले कोरोनाविरुद्धको खोप लगाउन माग गरेर प्रदर्शन गरेका छन् । उनीहरूले खोप लगाउन पाउनु पर्ने भन्दै मंगलबार बिहान युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय रोजगार गन्तव्य मुलुकहरूले कोरोनाविरुद्धको खोपलाई अनिवार्य गरेका छन् । भिसालगायत प्रक्रिया पूरा गरेका युवाहरू घन्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै आक्रोशित हुँदै सडक प्रदर्शनमा नै निस्किएका हुन् । महाराजन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा सोमबार राति ९ बजेदेखि लाइनमा बसेका उनीहरूलाई मंगलबार बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई खोप उपलब्ध गराउन सरकारले चरम बेवास्ता गरेको आरोप उनीहरूले लगाएका छन् ।
प्रदर्शनमा उत्रिएका युवाहरूले एक डोज मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप लगाउने व्यवस्था गर्नका लागिसमेत सरकारसँग माग गरेका छन् । तर जोन्सन एन्ड जोन्सन खोपको मौज्दात सकिएको बताइएको छ । जोन्सन एन्ड जोन्सनभन्दा अन्य खोपहरू लगाउन उनीहरूलाई आग्रहसमेत गरिएको छ ।