
काठमाडौं– रोजगारीका लागि इजरायल जानका लागि हुने परीक्षा भदौ महिनाभित्रै गर्ने तयारी भइरहेको छ । इजरायलको स्यहार केन्द्रमा एक हजार श्रमिक पठाउने भन्दै वैदेशिक रोजगार विभागले दिएको आवेदनको अहिले रुजुको कार्य भइरहेको र परीक्षा यो महिनाभित्रै गर्ने गरी तयारी भइरहेको हो ।
आवेदन दिएका युवाहरूको अहिले रुजुको काम भइरहेको र ४–५ दिनमा रुजुको काम सकिने र त्यसपछि परीक्षाको मिति तोक्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागअन्तर्गत इजरायल शाखाका प्रमुख तथा निर्देशक डम्बरबहादुर सुनुवारले बताएका छन् । अहिले रुजुको काम अन्तिम चरणमा पुगेको र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सँगको समन्वयमा परीक्षाको मिति तोकिने उनले बताए । सिसिएमसीको मापदण्डअनुसार भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
रुजु सकिएपछि मापदण्डमा परेका उम्मेदवारको नाम विभागको वेबसाइटमा प्रकाशन गरिने तथा परीक्षामा सामेल हुने परीक्षार्थीको मोबाइल नम्बर र इमेलमा पनि सन्देश पठाइने निर्देशक सुनुवारले बताए । परीक्षा काठमाडौंमा हुने र त्यसको तयारीका काम पनि भइरहेको उनको भनाइ छ ।
यसैबीच, नेपालका लागि इजरायली राजदूतसँग पनि श्रमिक छनोटका विषयमा छलफल भएको छ । इजरायलका राजदूत हनान गोडरसँग छलफल भएको निर्देशक सुनुवारले बताएका छन् । भेटका क्रममा राजदूत गोडरले छनोट प्रक्रियामा सन्तुष्ट देखिएको बताइएको छ । पहिलोपटक भएकाले छनोट प्रक्रिया प्रभावकारी बनाउनु पर्ने विषयमा कुरा भएको निर्देशक सुनुवारले बताए ।
इजरायलका लागि ९ हजार ६ सय ९९ जनाले आवेदन फारम भरेको विभागले जनाएको छ । आवेदन दिएकामध्ये करिब १ हजार ६ सयको हाराहारीमा लिखित परीक्षामा उत्तीर्ण गराइने विभागले जनाएको छ । त्यसपछि अन्तर्वार्ताबाट १ हजार ४ सयको अन्तिम नामावाली प्रकाशन गरिने र एक हजार जना श्रमिक इजरायलमा रोजगारीका लागि जान पाउने निर्देशक सुनुवारले बताएका छन् । लिखित र मौखिक परीक्षा उत्तीर्ण गरे पनि ४ सय जनाले भने इजरायल जान पाउने छैनन् । परीक्षा लोकसेवा मोडलमा सञ्चालन गरिने यसअघिनै विभागले जानकारी गराइसकेको छ ।