
काठमाडौं– कोरोनाको विषयलाई लिएर कतारले नेपालबारे केही बोलेको छैन । कतारले विभिन्न मुलुकहरूलाई कोरोनाको खतरालाई लिएर रेड, एलो र ग्रिन जोन गरी तीन वर्गमा विभाजन गरेको भए पनि नेपाललाई भने कुनै पनि वर्गमा नराखेर मौन बसेको हो ।
नेपालीहरूको प्रमुख गन्तव्य मुलुकमध्येको कतारले पछिल्लोपटक सार्वजनिक गरेको सो तीन वर्गको सूचीमा नेपाललाई समावेश गरेको छैन । कतार सरकारले जारी गरेको कोरोना भाइरस (कोभिड–१९) जोखिम सम्बन्धी सूचीमा नेपालबारे भने मौन देखिएको छ ।
कतारले श्रमिक आपूर्ति गर्ने मुलुकमध्ये ५ वटा देशलाई सूचीमा समावेश नगरेको बताइएको छ । २३ अगस्टमा सार्वजनिक गरेको सूचीमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सलाई कुनै पनि सूचीमा समावेश नभएका हुन् । कतारले जारी गरेको रेड, एलो र ग्रिन जोनमध्ये कुनैमा पनि समावेश नभएका यी देशहरूका विषयमा कतारले छुट्टै व्यवस्था गर्ने बताइएको छ ।
कतारले पछिल्लोपटक सार्वजनिक गरेको सूचीअनुसार कोभिड–१९ जोखिम कम –ग्रिन) जोनमा परेका देशको संख्या ११ रहेको छ । यो यसअघि २१ रहेको थियो ।
ग्रिन जोनमा पर्ने देशको संख्यामा धैरैले कमी आएको बताइएको छ । त्यस्तै कतारले २७ वटा मुलुकलाई एलो जोन अर्थात् मध्यम जोखिम भएको देशमा राखेको छ । यो समूहमा यसअघि ३३ वटा देश रहेका थिए । त्यस्तै १ सय ६७ वटा मुलुकलाई उच्च जोखिमको सूची रेड जोनमा राखिएको छ ।