
काठमाडौं– रोजगारीका लागि इजरायल जानका लागि सञ्चालन गरिने परीक्षा लोकसेवा मोडलमा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिखित र मौखिक परीक्षा लोकसेवा मोडलमा सञ्चालन गरिने जनाएको हो ।
अहिले इजरायलका लागि परेका आवेदनहरूको रुजु गर्ने कार्य भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । रुजु गरिसकेपछि लिखिन परीक्षा सञ्चालन हुने र लोकसेवाको मोडलमा परीक्षा सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ । जिटुजीमार्फत पठाइने १ हजार श्रमिकका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन परेको विभागले जनाएको छ । यी मध्ये रुजु भएकाहरू लिखित परीक्षामा सहभागी हुने विभागका निर्देशक तथा इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवारले जनाएका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पूर्णयोग्यता प्रणालीका आधारमा परीक्षा सञ्चालन गरिने कुरामा आसवस्त रहन आग्रह गरेको छ ।
अहिले पहिलो चरणमा इजराय सरकारबाट १ हजार जनाको माग आएको र सोही अनुसार परीक्षा सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । जसका लागि १ हजार ४ सय जना उत्तीर्ण गराइने बताइएको छ । उत्तीर्ण भएकामध्ये पनि ४ सय जना भने इजरायल जान नपाउने विभागले जनाएको छ ।