
काठमाण्डौ– नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक कुवेतसँग सिधा उडान हुने भएको छ । कोरोनाका कारण रोकिएको सिधा उडान पुनः सुरु हुने भएको हो । कुवेतमा नेपाली आप्रवासी श्रमिकको संख्या ठूलो मात्रामा भएको भन्दै उनीहरूको आवत्जावतमा सहजताका लागि यस्तो निर्णय लिएको जनाएको छ ।
यस्तै, कुवेतको मन्त्रिपरिषद्ले कुवेतले मान्यता नदिएको कोरोनाविरुद्धको खोप लगाएका आवासीय भिसा भएकाहरूलाई पनि कुवेत प्रवेश गर्न दिने निर्णय गरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कुवेत सिनो फार्म (भेरोसेल) सिनोभ्यास र स्पुतनिक भी खोप लगाएका नागरिकलाई पनि कुवेतले प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, अक्सफोर्ड अस्ट्राजेनेका, मोर्डना र जोन्सन एन्ड जोन्सन खोपलाई मान्यता दिएको छ ।
कोरोना संक्रमण रोकथामका लागि भन्दै नेपाल, भारतलगायत देशसँगको सिधा उडानमा लगाएको प्रतिबन्ध खुला गर्दै कुवेतको मन्त्रिपरिषद्ले पुनः सिधा उडान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । १ अगस्टदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको कुवेतले कहिलेदेखि नियमित उडान सुरु गर्छ भनेर एकिन मिति भने खुलाएको छैन । १ अगस्टदेखि खोप लगाएका आप्रवासीलाई प्रवेश अनुमति दिने निर्णय गरे पनि कुवेत प्रवेश गर्नका लागि ग्रिन जोनमा रहेका तेस्रो देशमा क्वारेन्टाइन बसाइको अवधि भने पूरा गर्नुपर्ने नियम रहेको थियो ।