
काठमाडौं– कतारमा रहेको नेपाली दूतावासले दुई दिन राहदानी आवेदन दिन नपाउने जनाएको छ । राहदानी विभागको सफ्टवेयरमा तथ्यांक रूपान्तरण गर्नु पर्ने भएकाले राहदानीका लागि आवेदन लिने कार्य दुई दिन बन्द गरिने भएको हो ।
राहदानी विभागमा तथ्यांक रूपान्तरण गर्नु पर्ने भएकाले दूतावासको प्रत्यक्ष भर्ना गर्ने कार्य ६ र ७ भदौका दिन बन्द हुने दूतावासले जनाएको छ । राहदानीको लागि आवेदन लिने कार्य मात्रै नहुने तर राहदानी वितरणलगायत अन्य सबै कार्य भने नियमित रूपमा सञ्चालन हुने दूतावासले एक सूचना जारी गरेर जनाएको छ । यसैबीच कतारमा रहेको नेपाली दूतावासले तयारी अवस्थामा रहेका राहदानी बुझिलिनका लागिसमेत आग्रह गरेको छ ।
दूतावासमा ३ अगस्टसम्म आवेदन दिएका १ हजार २ सय ८८ जनाको राहदानी तयार भएको भन्दै बुझिलिन अनुरोध गरिएको हो । राहदानी तयार भएका व्यक्तिहरूको नाम दूतावासको वेबसाइटमा राखिएको र सो नाम हेरेर राहदानी लिन आउन सकिने बताइएको छ । राहदानी लिनका लागि राजस्व तिरेको रसिद र साथमा रहेको राहदानी लिएर विहान १० बजेदेखि दिउँसो २ बजेसम्म दूतावासमा आएर राहदानी लिन सकिने बताइएको छ ।