
काठमाडौं– नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमध्येको एक कुवेतले कोरोना महामारी (कोभिड–१९) को तेस्रो लहरबाट मुक्त भएको जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ समितिले देशमा सञ्चालित खोप अभियानबाट तेस्रो लहरबाट देश बाहिर निस्केको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयको कोभिड–१९ समितिका सदस्य डा.खलेद अल सइदले देशमा खोप अभियानको सफलतासँगै कोरोनाको सम्भावित तेस्रो लहरबाट देश बाहिरिएको बताएको त्यहाँका स्थानीय सञ्चार माध्यामले जनाएका छन् । कुवेतमा रहेका २६ लाख ६८ हजार मानिसले कोरोनाविरुद्धको खोपको कम्तीमा पनि एक डोज लगाइसकेको सइदको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यामले उल्लेख गरेका हुन् । खोप लगाउनका लागि योग्य ६८ प्रतिशतभन्दा बढीले खोप लगाइसकेको कुवेत सरकारको तथ्यांकले देखाएको छ ।
कुवेतले १२ वर्ष उमेरमाथिका सबै नागरिकलाई खोप लगाउन योग्यको सूचीमा राखेको छ । कुवेतमा पछिल्लो समय कोरोना संक्रमण दरसमेत घट्दै गएको छ । आइतबार त्यहाँ ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो ८ महिना यताकै कम भएको बताइएको छ । १२ अगस्टमा कुवेतमा ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संख्या पछिल्लो समय घट्दै गएको देखिएको छ ।
कुवेतमा कोरोनाका कारण हालसम्म २ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ । जम्मा संक्रमितको संख्या ४ लाख ६ हजार ५ सय ४० जना रहेको बताइएको छ । जसमध्ये ३ लाख ९७ हजार २ सय ४७ जना निको भएका छन् । अहिले संक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४ जना रहेको बताइएको छ ।