
काठमाडौं– वैदेशिक रोजगारका लागि इजरायल जान ६ महिना म्याद भएको राहदानी भएकाहरूले पनि आवेदन दिन पाउने भएका छन् । इजरायल जानका लागि इच्छुकले आवेदन दिँदा ३ वर्ष म्याद भएको राहदानी हुनु पर्ने बताइएको भए पनि अहिले त्यसलाई संशोधन गरेर ६ महिना समय भएकाहरूले पनि आवदेन दिन पाउने भएका हुन् ।
जिटुजीमार्फत रोजगारीका लागि इजरायल जान वैदेशिक रोजगार विभागले १२ साउनदेखि २१ दिनको समय तोकेर आवेदन माग गरेको थियो । इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर) मा नेपाली श्रमिक पठाउनका लागि आवेदन माग गरिएको विभागले जनाएको छ । इजरायलमा रोजगारी गर्नका इच्छुक महिला पुरुषले आवेदन दिन सक्ने बताइएको छ । पहिलो चरणमा एक हजार जनाले इजरायलमा रोजगारीका लागि जान पाउने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताएका छन् ।
भाषा परीक्षामा एक हजार ४ सय जना उत्तीर्ण गराइने र त्यसमध्येबाट एक हजार जना मात्रै जान पाउने उनले बताए । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूमध्ये ४ सय जना भने इजरायल जान नपाउने उनको भनाइ छ । एक हजार जनामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष इजरायल जान पाउने विभागले जनाएको छ । अंग्रेजी माध्यमबाट हुने परीक्षामा भएपछि इजरायल जानका लागि रु. १ लाख ६५ हजार लागत पर्ने विभागले जनाएको छ ।