
काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकले अबदेखि म्यानपावरबाटै ‘क्युआर कोड’सहितको खोप प्रमाणपत्र पाउने भएका छन् । म्यानपावर व्यवसायीमार्फत वैदेशिक रोजगारीमा जानेहरूले कोरोनाविरुद्धको खोप लगाएको विद्युतीय प्रमाण (क्युआर कोड) सम्बन्धित म्यानपावरबाटै प्राप्त गर्न सक्ने भएका हुन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच शुक्रबार भएको छलफलमा क्युआर कोडसहितको खोपका प्रमाणपत्र म्यानपावरबाटै दिलाउने निर्णय भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले एक सूचना जारी गर्दै यस्तो बताएको हो । म्यानपावर आफैँले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिस्ट्रेसन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्युआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावरको आधिकारिक इमेलमा पठाइने व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यसरी उपलब्ध गराइएको क्युआर कोडसहितको प्रमाणपत्र अन्य कुनै पनि निकायबाट प्रमाणीकरण गर्नु नपर्ने बताइएको छ । यस्तो प्रमाणपत्र प्राप्त गर्नका लागि श्रमिकले अतिरिक्त शुल्कसमेत तिर्नु नपर्ने विभागले जारी गरेको सूचनामा जनाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि आवश्यक प्रबन्ध गरिदिन वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए ।