
काठमाडौं– वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंक तथा वित्तीय संस्थाबाट रकम पठाएमा थप एक प्रतिशत ब्याज पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगरमा गएका श्रमिकले पठाएको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा थप एक प्रतिशत ब्याज पाउने उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफूले कमाएको रकम बैंकिङ प्रणालीमार्फत पठाउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ यस्तो नीति लिएको बताइएको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय श्रमिकले अहिले पनि हुन्डीलगायतका अन्य माध्यमबाट रकम पठाउने गरेको भन्दै यसलाई निरुत्साहित गर्नका लागि पनि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कोरोना महामारीको बीचमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहेको भए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण बिप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दबाब पर्न सक्ने सम्भावना रहेको पनि नयाँ मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।