
काठमाडौं– संयुक्त अरब इमिरेट्सको दुबई राज्यमा जान अब कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ । नेपाल, भारत, पाकिस्तान र श्रीलंकाबाट दुबई जानेहरूलाई युएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड मात्रै पालना गरे पुग्ने भएको हो ।
स्वास्थ्यका अन्य मापदण्ड पालना गरेको खण्डमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र पेस गर्नु नपर्ने भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले बताएका छन् । यो नियम केवल दुबईमा मात्रै लागू भएको तर अन्य राज्यमा यो लागू नहुने समाचारमा जनाइएको छ । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र आवश्यक नभए पनि युएई जाने नेपालीले सबैभन्दा पहिला युएईको सम्बन्धित निकायमा अनलाइनबाटै प्रवेशका लागि अनुमति भने लिनु पर्ने बताइएको छ । त्यस्तै ४८ घन्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट भने अनिवार्य गरिएको छ ।
नेपालको विमानस्थलमा र्यापिड पिसिआर परीक्षण गरेको हुनुपर्नेछ भने युुएईको विमानस्थलमा अवतरण भएपछि पनि पिसिआर परीक्षण गर्नु पर्नेछ । त्यसैगरी क्वारेन्टाइनलगायत युएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्नेछ । तर, नेपालबाट जाने यात्रुको विमानस्थलमा र्यापिड पिसिआर परीक्षणको व्यवस्था नहुँदा दुबई उड्न विमानस्थल पुगेका यात्रुसमेत फर्किनु पर्ने बाध्यतामा रहेको बताइएको छ । बुधबार युएई जानका लागि त्रिभुवन विमास्थलमा पुगेका नेपालीहरू युएई जान नपाएपछि विमान खाली गएको बताइएको छ । नेपाल एयरलाइन्सले र्यापिड पिसिआर परीक्षणको व्यवस्था नभएसम्म युएई जाने यात्रु नलैजाने बताइसकेको छ । जसले गर्दा यात्रु विमानस्थबाट घर फर्किनु परेको बताइएको छ ।