
काठमाडौं– गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । शुक्रबार निर्वाचित भएको नयाँ कार्यसमितिले सोमबार शपथ ग्रहण गरेको हो । २ अगस्टमा सम्पन्न भएको निर्वाचनको परिणाम केही ढिला गरेर शुक्रबार मात्रै सार्वजनिक गरिएको थियो । मत परिणामअनुसार एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् । गाहा मगरको नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख महेन्द्रराज कँडेलले शपथग्रहण गराएका छन् ।
शपथग्रहण कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । सो समारोहमा राजदूत रेग्मीले नेपाल–युके सम्बन्ध विस्तारमा एनआरएनएसँग मिलेर काम गर्ने बताएका छन् ।
जिम्मेवारी लिएपछि बोल्दै नवनिर्वाचित अध्यक्ष मगरले एनआरएनएको उद्देश्य अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एनआरएनएको संस्थागत विकासका लागि सबै पक्षलाई समेटेर अघि बढ्ने उनले बताए ।
शपथ ग्रहण कार्यक्रममा एनआरएनए केन्द्रका पूर्वापाध्यक्ष एवं आइसिसी सल्लाहकार कुल आचार्य, एनआरएनए युकेका निवर्तमान अध्यक्ष पुनम गुरुङलगायतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामनासहित बधाइ ज्ञापन गरेका थिए । एनआरएनए युकेका पूर्वउपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार रोजिना प्रधान राईले पनि शुभकामना व्यक्त गरेकी थिइन् । सोही अवसरमा संस्थाका पूर्वउपाध्यक्ष शेर सुनारलाई प्रमुख संरक्षकसमेत घोषित गरिएको बताइएको छ ।