
काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक पर्ने ‘क्युआर कोड’सहितको खोप प्रमाणपत्र अनलाइनबाट समेत लिन सकिने भएको छ । विदेश जानका लागि अनिवार्य आवश्यक रहेको यो सुविधा अब अनलाइन प्रणालीबाटै लिन सकिने भएको हो ।
विभिन्न प्रयोजनका लागि विदेश जानेहरूका लागि ‘क्युआर कोड’ अनिवार्य गरिएको अवस्थामा उनीहरूको सहजताका लागि अनलाइनबाट प्रमाणीकरणको काम सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यसका लागि विभागको वेबसाइटमा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो कबुलियतनामालगायत कागजागतसहित आवेदन दिनु पर्ने छ । कबुलियतनामा ‘रिक्वेस्ट फर्म’ बाटै डाउनलोड गर्न सकिन्छ, साथै फारम भर्ने ठाउँमा समेत उपलब्ध हुने विभागले जनाएको छ ।
तीन दिनभित्रै विदेश जानुपर्ने नागरिकले भने यसबारे फारममा उल्लेख गरी भिसा र टिकट पनि पेस गर्नु पर्ने विभागको सूचनामा भनिएको छ । यस्ता नागरिकको हकमा विभागले द्रूत सेवामार्फत २४ घन्टाभित्रै र अन्यको हकमा भने तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ । अनलाइनबाट फारम भर्न समस्या पर्ने नागरिकले भने कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा उपस्थित भएर खोप प्रमाणपत्रको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।