
काठमाडौं– नेपालबाट विदेश जाने नेपालीहरूका लागि ‘क्युआर कोड’सहितको खोप लगाएको प्रमाण राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले दिने भएको छ । वैदेशिक रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामको लागि विदेश जानेहरूलाई कीर्तिपुरमा रहेको केन्द्रबाट ‘क्युआर कोड’सहितको खोप प्रमाण प्रदान गरिने भएको हो ।
केन्द्रले बुधबारदेखि प्रमाणीकरणको सेवा दिएको छ । पछिल्लो समय कुवेतलगायत वैदेशिक रोजगारका गन्तव्य मुलुहरूले ‘क्युआर कोड’सहितको खोप लगाएको प्रमाण माग्ने गरेका छन् । युएईले पनि ‘क्युआर कोड’सहितको प्रमाण माग्न सक्ने भन्दै त्यहाँ रहेको नेपाली दूतावासले सोहीअनुसारको प्रमाण बोकेर आउन आग्रह गरिसकेको छ । खोप लगाएको विद्युतीय प्रमाण नहुँदा विदेश जान समस्या भयो भन्दै श्रमिकहरूले ‘क्युआर कोड’सहितको प्रमाण सहज रूपमा पाउनु पर्ने माग राख्दै काठमाडौंमा आन्दोलनसमेत गरेका थिए ।
कोडसहितको प्रमाण दिने कार्य अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने र पूर्ण खोप लगाएका जुनसुकै व्यक्तिलाई पनि ‘क्युआर कोड’सहितको प्रमाणपत्र उपलब्ध गराउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।