
काठमाडौं– मलेसियाको पेनाङमा ‘अवैधानिक’ रूपमा बस्दै आएका विदेशी श्रमिकले खोपको एक मात्रा लगाए पुग्ने भएको छ । अवैध रूपमा बसिरहेकाहरूलाई कोरोनाविरुद्धको खोपको एक मात्रा दिए पुग्ने र टास्क फोर्सले त्यसको व्यवस्था गर्ने भएको हो ।
पेनाङका स्वास्थ्य प्रमुखका अनुसार अवैधानिक रूपमा बस्दै आएका विदेशीहरूलाई एक डोज मात्र दिए पुग्ने खोप लगाइने समाचार मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार अवैधानिक रूपमा बस्दै आएकाहरू तथा शरणार्थीहरूलाई एकैपटक खोप दिन लागिएको हो । गत जुन महिनामा एक सञ्चार माध्यममले पेनाङमा अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकहरू तथा शरणार्थीहरूलाई खोप लगाइने समाचार प्रकाशित भएको थियो । त्यसरी खोप लगाउनेहरू झन्डै २० हजारले आवेदन दिने अपेक्षा गरिए पनि पक्राउ परिने त्रासका कारण धेरैले आवेदन नदिएको जनाइएको छ ।
युएनएचसिआरले शरणार्थीहरू एक ठाउँबाट अर्को ठाउँमा सरिरहने भएका कारण उनीहरूका लागि एक डोज लगाए पुग्ने खोप प्राथमिकतामा राखिएको समाचारमा जनाइएको छ । पेनाङका स्वास्थ्य प्रमुखले सार्वजनिक निजी साझेदारीअन्तर्गत ६ हजार विदेशी श्रमिकले खोप लगाइसकेको पनि बताएका छन् । मलेसियाले रोजगारीका लागि मलेसिया आएका श्रमिकको न्यूनतम् शुल्क रोजगारदाताहरूले तिरेर कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था यसअघि नै गरिसकेको छ । गत २५ जुलाईमा अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिक तथा शरणार्थीहरूलाई खोप प्रदान गरिने सम्बन्धि कार्यविधि राष्ट्रिय खोप कार्यक्रमले स्वीकृत गरेको थियो । खोप कार्यक्रम मलेसियन रेड क्रिसेन्टमार्फत सञ्चालन गरिने समाचारमा जनाइएको छ ।