
काठमाडौं– वैदेशिक रोजगारको सिलसिलामा नेपालबाट कतार जाने यात्रुले अनिवार्य रूपमा होटेल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कतार सरकारले २ अगस्टदेखि लागू हुने गरी नयाँ ट्राभल गाइडलाइन जारी गर्दै अनिवार्य होटल क्वारेन्टाइनमा बस्नु पर्ने नियम ल्याएको हो ।
योसँगै नेपालबाट कतार जाने यात्रुहरूले कोरोनाविरुद्धको खोप लगाएको भए पनि अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नु पर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । योभन्दा पहिले १२ जुलाईदेखि कतारले कोरोना खोप लगाएकालाई क्वारेन्टाइनमा बस्नु नपर्ने नियम लागू गरेको थियो । तर, पछिल्लो समय कोरोनाको जोखिम बढ्न सक्ने भन्दै कतार सरकारले त्यसमा थप कडाइ गरेको हो । नयाँ नियमअनुसार कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोरोना संक्रमण भई निको भएका यात्रुहरूको हकमा २ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने दूतावासले जनाएको छ । दोस्रो दिनमा पिसिआर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि मात्रै आफ्नो गन्तव्यमा जान पाइने छ ।
यस्तै कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका क्युआइडीबाहक यात्रुहरूले १० दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने नियम थप गरिएको छ । खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेस भिसाअन्तर्गत) यात्रुहरूलाई भने कतारमा प्रवेश गर्न नदिइने दूतावासले जनाएको छ । यसबारे थप जानकारीका लागि सम्बन्धित एअरलाइन्ससँग सम्पर्क गरेर बुझ्न दूतावासले आग्रह गरेको छ । नेपालबाहेक अरु कुन–कुन देशका लागि यो नियम लागू गरिन्छ भन्नेबारे दूतावासको सूचनामा केही उल्लेख छैन । यस विषयमा कतारका स्थानीय सञ्चार माध्यमले पनि केही खुलाएका छैनन् । तर, कतारमा रहेको भारतीय दूतावासले पनि भारतसहित केही देशका यात्रुहरूले कतार पुगेपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै ट्वीट गरेको छ ।