
काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिक तथा विद्यार्थीहरूका लागि कोरोना विरुद्धको खोप लगाउनका लागि २ वटा अस्पताल तोकिएको छ । अब विदेश जानेहरूले काठमाडौंमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी दुई वटा अस्पतालमा विदेश जानेहरूका लागि खोप लगाउने व्यवस्था गरिएको छ । यी अस्पतालमा खोप लगाउन जाँदा राहदानी र भिसा भने अनिवार्य रूपमा साथमा लिनुपर्ने मन्त्रालयले जनाएको छ । पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरूकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको थियो ।