
काठमाडौं– साउदीले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र (अकामा) को समय बढाउने भएको छ । साउदीबाट आङ्खनो देश गएका र कोरोनाको कारण फर्कन नपाएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र (अकामा) को म्याद आउँदो ३१ अगस्टसम्म बढाउने भएको हो ।
कोरोेनाका कारण समस्यामा परेका श्रमिकलाई यसबाट राहत मिल्ने साउदी अरबका स्थानीय सञ्चार माध्यामले जनाएका छन् । यसका साथै साउदीले भिजिट भिसा र एक्जिट एन्ड इन्ट्री भिसाको म्याद पनि ३१ अगस्टसम्म निःशुल्क बढाउने जनाएको छ । कोरोना महामारी रोकथामका लागि अपनाइएका विभिन्न मापदण्डका कारण समयमा देश छाड्न र फर्कन सक्ने अवस्था नभएको भन्दै साउदीले यो नियम बनाएको समाचारमा जनाइएको छ ।
यसबाट बिदामा नेपाल आएर साउदी फर्कन नपाएका र भिसा करार सकिएका श्रमिकलाई लाभ पुग्ने विश्वास गरिएको छ । साउदीबाट स्वदेश फर्कन नपाएका र बिदामा नेपाल आएर साउदी जान नपाएकाहरूलाई सहज हुने जनाइएको छ ।