
काठमाडौं– वैदेशिक रोजगारमा जाने नपालीहरूलाई सरकारले जोन्सन एन्ड जोन्सन खोप दिने भएको छ । खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई सरकारले जोन्सन एन्ड जोन्सन खोप दिने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई पनि जोन्सन एन्ड जोन्सनको खोप दिने जनाएको छ । यसअघि वैदेशिक रोजगारमा जाने श्रमिकलाई भेरोसेल खोपको दिइने भनिएको थियो । भेरोसेल खोप नेपालीको श्रम गन्तव्य मुलुकले मान्यता नदिएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले श्रमिक जाने मुलुकले मान्यता दिएको खोप लगाउनु पर्ने माग गर्दै आएका थिए । कतिपय गन्तव्य मुलुकले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुवै मात्रा लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले एक मात्र मात्रै लगाउँदा हुने जोन्सनको खोप दिन सरकारसँग व्यवसायीहरूले आग्रह गरेका थिए ।
योसँगै कोरोनाको खोप अनिवार्य गरेका मुलुकमा जाने नेपालीले पासपोर्ट र भिसाको आधारमा खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिएको १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप सोमबारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिन सुरु गरिसकेको छ ।