
काठमाडौं– कतारमा रहेको नेपाली दूताबास तीन दिन बन्द हुने भएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अदाको अवसरमा दूताबास ५ साउनदेखि ७ साउन अर्थात् २० जुलाइदेखि २२ जुलाईसम्म बन्द हुने भएको हो ।
बिहीबार दूताबासले इद–उल–अदाको शुभकामना दिँदै तीन दिन कार्यालय बन्द हुने जानकारी गराएको छ । दूताबास बन्द रहेको समयमा आपतकालीन जानकारी तथा सेवाका लागि दूताबासमा फोन गर्न आग्रह गरिएको छ । दूताबासले पर्व मनाउने सिलसिलामा कतारको धर्म, संस्कृति, परम्परा र मान्यताविपरीत हुने कुनै पनि कार्य नगर्न पनि सबै नेपालीमा अनुरोध गरेको छ । साथै कोभिडको समय भएकाले सार्वजनिकस्थलमा अनावश्यक जमघट नगर्नसमेत दूताबासले सबैलाई आग्रह गरेको छ ।
साथै दूताबासले तयार भइसकेका राहदानीहरू बिदाको अवधि ७ साउन अर्थात २२ जुलाईका दिन विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म वितरण गर्ने जनाएको छ । दूताबासको वेबसाइटमा हेरेर तयार भएको राहदानी लिन सकिने बताइएको छ । राहदानी लिनका लागि राजस्व तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर आउनु पर्नेछ ।