
काठमाडौं– रोजगारीको सिलसिलनमा दक्षिण कोरिया जाने कामदारले कोभिड बिमा गराउनु पर्ने भएको छ । कोरिया गएको १४ दिनसम्मका लागि ५ हजार डलरको कोभिड–१९ बिमा गर्नु पर्ने भएको हो ।
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले बिहीबार एक सूचना जारी गर्दै कोभिड बिमा गराउँन इच्छुक कम्पनीलाई दर्ता हुन आह्वान गरेको छ । सूचनामा कोरिया जाने कामदारका लागि ५ हजार डलर बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीहरूलाई निवेदन दिन आग्रह गरिएको छ । इपिएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका ०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदाहरूको बिमा गर्नु पर्ने भएकाले सूचना जारी गरिएको इपिएस शाखा कोरियाका निर्देशक इन्द्र गौतमले जानकारी दिएका छन् ।
तोकेबमोजिमको बिमा प्रिमियमबापतको रकममा कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बिमा कम्पनीहरूले ७ साउनभित्र कोरिया शाखामा सूचीकृत संस्था दर्ताका लागि आधिकारिक कागजातको प्रतिलिपिसहित निवेदन दिन सकिने निर्देशक गौतमले बताएका छन् । जसमा कोरिया सरकारले गत वर्षबाट श्रमिकहरूको अनिवार्य कोभिड–१९ को बिमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिकरूपमा सो रकम बराबरको बिमा गर्ने कम्पनीहरूलाई सूचीकृत हुन सूचना जारी गरेको बताइएको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण अहिले कोरियाले नेपालसहितका मुलुकबाट विदेशी कामदार लिन प्रतिबन्ध लगाएको अवस्था रहेको छ । जसका कारण करार सम्झौता आएका करिब ८ हजार जना कोरिया जान पाएका छैनन् ।