
काठमाडौं– नेपालबाट एक महिनाको अवधिमा ९ हजार ६५१ जना विदेशिएका छन् । अंग्रेजी महिना जुनमा उक्त संख्यामा नेपाली श्रमिक विदेशिएका हुन् ।
यो अवधिमा नेपाल आउनेको संख्या पनि हाराहारीमा रहेको अध्यागमन विभागको तथ्यांकमा देखिएको छ । विभागको तथ्यांकअनुसार ९ हजार ५२७ जना नेपाली स्वदेश फर्किएका छन् । जुन महिनामा नेपाली र विदेशी गरी १३ हजार २५७ जना नेपालको विमानस्थल हुँदै बाहिरिएका छन् भने १० हजार ७०२ जना नेपाल भित्रिएको विभागले जनाएको छ ।
जुन महिनामा नेपालबाट विदेश जानेको संख्या मे महिनाको भन्दा ९ हजार ८७८ जना कम हो । मे महिनामा नेपालबाट २३ हजार १३५ जनाले नेपाल छाडेका थिए । मे महिनाको तुलनामा जुन महिनामा विदेशिने नेपालीको संख्या पनि घटेको छ । मे महिनामा १२ हजार १५८ जना नेपाली विदेश प्रस्थान गरेका थिए । मे महिनामा नेपाल आउनेको संख्यामा पनि कमी आएको छ । मे महिनामा १२ हजार ४ सय जना नेपाल प्रवेश गरेका थिए । त्यसमध्ये १० हजार ९३२ जना नेपाली र बाँकी विदेशी रहेको विभागको तथ्यांकले देखाएको छ ।
जुन महिनामा नेपालबाट सबैभन्दा बढी अमेरिका प्रस्थान गरेका छन् भने नेपाल भित्रिनेमा सबैभन्दा बढी भारतबाट रहेको जनाइएको छ । यो अवधिमा नेपालबाट ९८६ जना अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाबाट नेपाल आउनेको संख्या २६६ जना रहेको छ । त्यस्तै, भारत जानेको संख्या १ हजार २८ जना रहेको र भारतबाट नेपाल भित्रिनेको संख्या ३२९ जना रहेको छ । त्यस्तै जुन महिनामा नेपालबाट बेलायत जानेको संख्या २४६ जना रहेको छ, भने त्यहाँबाट नेपाल आउनेको संख्या ५७ जना मात्रै रहेको विभागले जनाएको छ ।