
काठमाडौं– कुवेतमा रहेको नेपाली दूताबासको सेवा आइतबारदेखि बन्द भएको छ । दूताबासका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा बन्द गरिएको हो ।
दूताबासले भौतिक रूपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारीलगायत काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने जानकारी दिएको छ । भौतिक कार्यालय बन्द रहेको समयमा अत्यावश्यक सेवा लिनु पर्दा दूताबासमा फोन गरेर जानकारी दिन सकिने दूताबासले जनाएको छ । भौतिक रूपमा प्रदान गरिने सेवा बन्द भए पनि अनलाइनमाट गरिने काम भने जारी नै रहने बताइएको छ । त्यसका लागि दूताबासको इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।
पछिल्लो सयम कुवेतमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या संख्या बढ्दै गएको छ । शनिबार मात्रै कुवेतमा १ हजार ६ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार मृत्यु हुनेको संख्या १० जना रहेको छ । हाल कुवेतमा संक्रिय संक्रमितको संख्या १८ हजार ५ सय ३६ जना रहेको छ । कुवेतमा ३ लाख ६२ हजार १८ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये ३ लाख ४१ हजार ४ सय ७७ जना निको भएका छन् । शनिबारसम्मको तथ्यांकअनुसार कुवेतमा २ हजार ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।