
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका गैरेको उपचारका क्रममा अस्पताल बिहीबार निधन भएको हो ।
अध्यक्ष गैरेलाई कोरोना पोजेटिभ देखिएपछि सिनांमगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो । उपचारका क्रममा अध्यक्षको निधन भएको संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । यसअघि घरमै आइसोलेसनमा रहेका गैरेको स्वास्थ्यमा समस्या बढेपछि २४ वैशाखमा ह्याम्स् अस्पतालको इमर्जेन्सीमा पु¥याइएको थियो । त्यतिखेर अध्यक्ष गैरेको अक्सिजन लेबल ६० मा झरेको थियो । ह्याम्समा आइसियुको अभावले गर्दा उनलाई थप उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको थियो ।
करिब ४० लाख बेरोजगार युवायुवतीहरुलाई विश्वका ११० राष्ट्रहरमा रोजगारका निमित्त पठाउने संस्थाहरुका संगठन प्रमुख गैरेको उपचारमा सरकारले कुनै चासो नदेखाएको भन्दै त्यहि बेला महासचिव श्रेष्ठले विरोध गरेका थिए । उनको शरीरमा अक्सिजन लेबल ६० मा झरेपछि उनलाई इमर्जेन्सीमा भर्ना गरिएको भए पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइसियुमा राख्न लामो समयको कोसिसपश्चात मात्र सफल हुँदा अत्यन्तै ढिला भइसकेको त्यहि बेला चिकित्सकहरुले बताएका थिए ।
करिब ६० प्रतिशत नेपालीको चुल्हो बाल्न सहयोग गर्ने वैदेशिक रोजगार व्यावसायीले अभिभावक गुमाएको भन्दै वरिष्ठ उपाध्यक्ष कमल तामाङद्वारा प्रकाशित शोक वक्तव्यमा अध्यक्ष गैरेको असामयिक निधनले संघलाई मर्माहत÷ स्तब्ध बनाएको उल्लेख गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।
अक्सन इन्टरनेसनल प्रा.लि.का सञ्चालक गैरे नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य र नेपाल उद्योग वाणिज्य महासंघले गठन गरेको वैदेशिक रोजगार फोरमको सभापतिसमेत रहेका थिए । गैरे असोज ०७६ मा भएको संघको २७औँ साधारणसभाबाट अध्यक्षमा विजयी भएका थिए ।