
काठमाडौं– वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरूका लागि सञ्चालन गरिने तालिमहरू वैकल्पिक रूपमा गर्न अनुरोध गरेको छ । कोरोनाको महामारी बढ्दै गएको भन्दै बोर्डले सोमबार सूचना जारी गरी भौतिक उपस्थिति नगराई अन्य माध्यमको प्रयोग गरी तालिम गर्न अनुरोध गरेको हो ।
अभिमुखीकरण तालिम, सीप विकास तालिम, केयर गिभर र घरेलु कामदारको तालिम दिने संस्थाहरूलाई भर्चुअल वा अन्य वैकल्पिक माध्यमको प्रयोग गर्न अनुरोध गरिएको बोर्डले जनाएको छ । बोर्डले काठमाडौं उपत्यकाभित्रका सबै महानगरपालिका र नगरपालिकासहित विराटनगर महानगरपालिका, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज र धनगढी उपमहानगरपालिकामा यस्ता कार्यक्रम सञ्चालन गर्नु परेमा वैकल्पिक माध्यम प्रयोग गर्न भनिएको छ । त्यसैगरी मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धाथनगर, विरेन्द्रनगर तथा भीमदत्त नगरपालिकामा भौतिक उपस्थिति भएर तालिमहरू सञ्चालन नगर्न अनुरोध गरिएको छ ।
बोर्डले भनेको छ, ‘भौतिक रूपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने भन्ने मन्त्रिपरिषद्को मिति ६ वैशाख ०७८ को निर्णयबमोजिम वैदेशिक रोजगार बोर्डको स्वीकृत पाठ्यक्रमअनुसार तालिम सञ्चालन गर्न अनुमति पाएका अभिमुखीकरण तालिम, सीप विकास तालिम, केयर गिभर र घरेलु कामदारको तालिम सञ्चालन गर्ने तालिम प्रदायक संस्थाहरूले मन्त्रिपरिषद्को उपरोक्त निर्णय बमोजिम गर्नु, गराउनु हुन र भौतिक उपस्थितिमा तालिम सञ्चालन गर्ने संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलगायत नेपाल सरकारका सूचनाप्रदायक संस्थाहरूसँग निरन्तर समन्वय गरी प्राप्त निर्देशानुसार तालिम सञ्चालन गर्नुहुन सम्बन्धित सरोकारवालाहरू सबैलाई यो सूचना जारी गरिएको व्यहोरा अनुरोध छ ।’