
काठमाडौं– वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका नौ जना श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत शव नेपाल ल्याइएको हो ।
विदेशमा रोजगारीका क्रममा रहँदा मृत्यु भएका उनीहरूको शव परिवारले अन्त्यष्टि गर्ने गन्तव्यसम्म ढुवानी गरिएको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले जानकारी दिएका छन् । यसअघि मलेसियाबाट दुई पटक १२ र १८ वटा शव ल्याइएको थियो । ‘मलेसियामा अझै ४ वटा शव ल्याउन बाँकी छ,’ उनले भने,’साउदीबाट पनि १३ वटा शव ल्याउनुपर्ने छ ।’
चालु आर्थिक वर्षको फागुनसम्म मात्रै ८८१ जना विदेशमा मृत्यु भएका श्रमिकको परिवारलाई बोर्डले क्षतिपूर्ति रकम दिलाएको छ । यो आर्थिक वर्षमा ७५० मात्रै शव आउने अनुमान गरेको यो वर्ष दोस्रो चौमासिकसम्म अनुमानभन्दा बढी श्रमिकको परिवारलाई क्षतिपूर्ति दिनुपरेको हो । मृतक परिवारलाई क्षतिपूर्ति दिन बोर्डले यो वर्ष ५२ करोड ५० लाख बजेट छुट्टयाएकोमा ५४ करोड ९८ लाख रूपैयाँ फागुनसम्म नै वितरण भइसकेको छ । बोर्डले विदेशमा जाँदा श्रमिकले जम्मा गर्ने वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति वितरण गर्छ ।