
तस्विर गुगल
काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको वायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले बायोमेट्रिक हाजिरी नमिलेमा विदेश जान नदिने नीति बुधबारदेखि कार्यान्वयन भएको छ । यसअघि विभागले १८ चैतमा सूचना जारी गर्दै हाजिरी नमिलेमा विदेश जान नदिइने जानकारी दिएको थियो । सोही सूचनाअनुसार हाजिर नमिलेका कामदार विदेश जान नपाउने भएका हुन् ।
एक व्यक्तिको हाजिरीमा अर्को व्यक्ति विदेश जाने परिपाटी बढेको भन्दै विभागले कडाइ गर्न लागेको जानकारी दिएको छ । विभागले मंगलबार थप सूचना जारी गर्दै हाजिरीलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । बायोमेट्रिक हाजिरीमा रुजु गराउँदा नमिलेमा श्रमिकलाई विमानस्थलको श्रम कक्षबाटै फर्काइने बताइएको छ । वैदेशिक रोजगारीमा जाने कामदारले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने गरेको र नक्कली बायोमेट्रिक लिएको भए उनीहरूलाई १ बैशाख ०७८ देखि विमानस्थलबाट फर्काइने बताइएको थियो ।
विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा बिमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुन सक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्विकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारीबाट वञ्चित हुने विभागले जनाएको छ । त्यस्तै बायोमेट्रिक हाजिरी नमिल्दा वैदेशिक रोजगारसम्बन्धी कानुन तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी र सुविधाबाट वञ्चित हुनाका साथै सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने भन्दै बायोमेट्रिकको क्रसचेक गर्ने विभागको भनाइ छ ।
वैदेशिक रोजगार ऐन, ०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, ०६४ उपनियम (२०) अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले प्रस्थानपूर्व अभिमुखीकरण तालिम लिई तालिम प्रदायक संस्थाले सम्बन्धित कामदारको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनु पर्ने प्रावधान छ ।