
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका ३ सय ४९ जना नेपाली नागरिकको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि विश्वका विभिन्न मुलुकमा रहेका ३ सय ४९ जना नेपाली नागरिकको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिकालगायत देशमा रहेका २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले निधन भएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छन् ।
यो साता कोराना भाइरसको कारणले विदेशमा कुनै पनि नेपालीको मृत्यु नभएको संयोजक डा.सापकोटाको भनाइ छ । मंगलबार साँझसम्म स्पेन, पोल्यान्ड, चेक रिपब्लिका, जापान, मलेसिया, युएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी, कोरोनाका कारण हालसम्म विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकले देखाएको छ । यसरी संक्रमित भएकामध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएको बताइएको छ । संक्रमणमुक्त हुनेहरू कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो ।