
काठमाडौं– दक्षिण कोरियामा बसोबास गर्ने विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । कोरियाको न्याय मन्त्रालयले नयाँ नियम बनाएर सूचना जारी गर्नुका साथै कोरियामा रहेको विदेशीहरूलाई राजदूताबासमा समेत पत्र काटेर त्यस नियमका बारेमा जानकारी गराएको हो ।
सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्य रूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ । न्याय मन्त्रालयको पत्रअनुसार नेपाली राजदूताबासले पनि एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीहरूलाई त्यस कुरा जानकारी गराएको छ । विशेषगरी इपिएस माध्यमद्वारा इ–नाइन भिसामा आउने नेपाली श्रमिकको सुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो ।
यो नियम आउँदो १ जुलाईदेखि लागू हुँदै छ । कोरियामा एफ फाइभ, एफ टू फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसाबाहेक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने नियम लागू भएको कोरियामा रहेको नेपाली दूताबासले जनाएको छ । विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आउँदो डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि जनाइएको छ ।
सन् २०२० मा मात्र १६ हजार १ सय ३० विदेशी नागरिकको राहदानीको अवधि सकिएको तर उनीहरूले राहदानी नवीकरण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागू भएपछि दक्षिण कोरियामा रहेका विदेशीहरूलाई उचित व्यवस्थापन गर्न सहज हुने न्याय मन्त्रालयको विश्वास छ । विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ ।