
काठमाडौं– विदेशमा कार्यरत नेपालीहरूमा कोरोना संक्रमण दर घट्दै गएको छ । विभिन्न देशमा कार्यरत नेपालीमा पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्यामा कमी आएको हो । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना संक्रमणको दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताएका छन् ।
यस्तै विदेशमा कोरोनाबाट ज्यान गुमाउने दर पनि घटेदै गएको उनको भनाइ छ । कोरोनाका कारण अघिल्लो हप्ता विदेशमा रहेका कुनै पनि नेपालीले ज्यान गुमाएका छैनन् ।
अहिलेसम्म कोरोनाका कारण विदेशका विभिन्न २१ देशमा रहेका तीन सय ४१ जना नेपालीले ज्यान गुमाएका छन् । विभिन्न ५३ देशमा रहेका ६३ हजार तीन सय सात जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये शनिबारसम्म ६१ हजार दुई सय ३७ जना निको भएर डिस्चार्ज भएका छन् । अघिल्लो साता स्विडेन, स्पेन, केन्या, युएईमा रहेका केही नेपालीमा संक्रमण देखिएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले बताए ।
यसैगरी, गैरआवासीय नेपाली संघले अहिले विश्वभर प्रयोगमा रहेका खोपहरू सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउनसमेत आग्रह गरेको छ । खोपका विषयमा हालसम्म पनि विभिन्न खाले भ्रम यथावत् रहेको भन्दै डा. सापकोटाले केही अपवादबाहेक खोप प्रयोगबाट कुनै खाले गम्भीर समस्या नदेखिएकाले खोप प्रयोगका लागि उपयुक्त मानिएकाले सबैलाई प्रयोग गर्न सुझाव दिएका छन् ।