
काठमाडौं– वैदशिक रोजगार विभागले मंसिर महिनादेखि फागनु महिनासम्ममा ३५ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ । अवैध अन्तर्वाता, बढी सेवा शुल्क लिएको विषयमा गुनासो आएपछि विभागले छापा मारेको हो ।
छापा मारिएका म्यानपावर कम्पनीका विषयमा अनुसन्धान भइरहेको विभागका निर्देशक तथा सूचना अधिकारी टीकामणि नेउपानले जानकारी दिएका छन् । जरिमाना गर्ने वा दर्ता खारेज नै गर्ने भन्ने विषय अनुसन्धान पछि थाहा हुने उनको भनाइ छ । अहिले छापा मारिएका म्यानपावरहरूमा बढी सेवा शुल्क लिने, अवैध अन्तर्वार्ता लिएको तथा फेसबुकबाट अन्तर्वार्ता गरिएकाजस्ता विषयहरू रहेको विभागले जनाएको छ ।
कुनै पनि कम्पनीले लगातार रूपमा तीन पटकसम्म एउटै किसिमको गल्ती गरेको पाइएमा उसको दर्ता खारेजसमेत हुने सूचना अधिकारी नेउपानेले बताएका छन् । अरु अवस्थामा भने आर्थिक जरिमाना गरी सचेत गराउने काम गरिने उनले बताए ।
कोरोनाका कारण अनलाइन अन्तर्वार्ता भन्दै अवैध काम भएका गुनासाहरू दिनहुँ जसो आउने गरेको पनि विभागले जनाएको छ । गुनासो आएपछि केही म्यानपावरमा छापा मार्दा अवैध गतिविधि भइरहेको अवस्थामा रंगेहात पक्राउसमेत गरिएको उनले बताए । मंसिरदेखि अहिलेसम्म ३५ वटा म्यानपावरमा छापा मारेको भए पनि यो समाचार तयार पार्दासम्म अनेकौँ कारणले विभागले एक सय म्यानपावर कम्पनीको आर्थिक कारोबार रोक्का गरिदिएको छ ।