
काठमाडौ– कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सम्पूर्ण विदेशीले तोकिएको समयावधिभित्र कोरोना परीक्षण नगरे ३० लाख कोरियन वनसम्म जरिवाना हुने भएको छ । सो प्रान्तको स्थानीय सरकारले २२ मार्च अर्थात् ९ चैतसम्म त्यहा“ रहेका सबै विदेशीलाई अनिवार्य कोरोनाको परीक्षण गर्नुपर्ने अन्यथा २० देखि ३० लाख वनसम्म जरिवाना तिर्नु पर्ने निर्णय गरेको हो ।
पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा कोरोनाको सामूहिक संक्रमण देखा परेपछि स्थानीय सरकारले सो नियम ल्याएको हो । यसपछि कोरियाले आफ्नो देशभित्र बसेको सबै आप्रबासी कामदारहरुको निःशुल्क परीक्षण गर्ने निर्णय गरिसकेको छ । यहि अनुसार ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सम्पूर्ण विदेशीलाई २२ मार्चसम्म कोरोना परीक्षण गरिसक्न निर्देशन दिइएको छ । पछिल्लो समय कोरियामा कोरोना संक्रमणको दर घट्दै गएको भए पनि विदेशीमा कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकाले यस्तो निर्देशन दिएको बताइएको छ ।
स्थानीय सरकारले कोरोना परीक्षणका लागि विदेशी काम गर्ने कम्पनीमा सम्पर्क गर्ने, विभिन्न माध्यमबाट सूचना जारी गर्ने कार्य भइसकेको पनि जनाएको छ । कोरिया सरकारले कोरोना परीक्षण गर्दा कुनै पनि कानुनी कागजात देखाउनु नपर्ने यस अघिनै बताइ सकेको छ । जसबाट गैरकानुनी रुपमा रहेका श्रमिकले पनि कोरोना परीक्षण गर्न पाउने छन् ।
ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशी कामदार राखेको अनुमान गरिन्छ । व्यवसायको हकमा कम्पनीमा कम्तीमा एक विदेशी कामदार रहे पनि २२ मार्चभित्र अनिवार्यरूपमा कोरोना परीक्षण गरेको हुनुपर्ने निर्देशनमा भिनिएको छ । हालसम्मको तथ्यांकअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहेका एक हजार सात सय विदेशीले कोरोना भाइरस परीक्षण गरेको पनि बताइएको छ ।